काठमाडाैं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आसन्न महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारीसहित २२ सदस्यकाे हस्ताक्षर बुझाइएकाे हाे ।
हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी राना छ्न् ।
यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलाले पनि हस्ताक्षर बुझाएका छ्न् । केन्द्रीय सदस्यको हस्ताक्षरको नेतृत्व गरेका भण्डारीले आम जनताको भावनाअनुसार कांग्रेसले निर्णय गर्नुपर्ने बताए । उनले हस्ताक्षर गर्ने सदस्यको संख्या बढ्नेसमेत बताए ।
‘कांग्रेस जस्तो व्यापक जनआधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दाबढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन’, उनीहरूले भनेका छन् ।
उनीहरूले वैदिक सनातन हिन्दुराष्ट्र राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौँमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यहरूले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन् ।
उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव लगेका हुन् । ‘कांग्रेसको राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्म जस्तो बहुमत महासमिति सदस्यको भावना र नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकामा चिन्तित हुँदै हामीले महासमिति बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पुरक प्रस्तावका रूपमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा पेश गरेका छौँ,’ उनीहरूले भनेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google