काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डांगीले निर्वाचन सम्पन्न भएको ४ महिनामा जनताले संसदप्रति राखेको अपेक्षा हुनेगरी खडा हुन नसकेको स्पष्ट आभास आफूलाई भएको बताएकी छन् ।
प्रतिनिधिसभाकी कान्छि सांसद समेत रहेकी डांगीले आफूले संसदको सुरुवातदेखि नै अग्रज र राज्यसत्ताको गतिविधि ध्यान दिएर नियालेको पनि बताइन् । ‘राजनीतिक घटनाक्रमले सदनको कामकारबाहीमा कुनै असर नपरोस भनेर हामी सचेत हुनु जरुरी छ। हाम्रो पार्टीले यसलाई ध्यान दिँदै सदनको आफ्नै क्यालेन्डर अर्थात् पात्रो भनेर आवाज उठाइरहेको छ,’ उनले भनेकी छिन्, ‘जुन आंशिक रुपले सम्बोधन पनि भएको छ। आशा छ सदनले छुट्टै आफ्नो क्यालेन्डर प्रयोग गरेर आफ्ना काम कारबाही अघि बढाउनेछ ।’
संसदमा डांगीले गरेको सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय,
म यो सदनमा उमेरको हिसाबमा सबैभन्दा कान्छि सांसद। सुरूवातबाट नै यो संसदमा मेरा अग्रजहरूबाट केही सिक्न सक्छु कि भनेर सम्पूर्ण सदन र राज्यसत्ताको गतिविधि ध्यान दिएर नियालिरहेको छु। ४ महिना भयो निर्वाचन सम्पन्न भएको तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए त्यसमा हामी खडा हुन नसकेको स्पष्ट आभास हुन थालेको छ।
राजनीतिले लिएको मोडको बारेमा हामी सबै जानकार नै छौं। तर सधैं राजनीतिका त्यस्ता मोडहरुलाई जिम्मेवार देखाएर सार्वभौम सदन पन्छन मिल्दैन।
राजनीतिक घटनाक्रमले सदनको कामकारबाहीमा कुनै असर नपरोस भनेर हामी सचेत हुनु जरुरी छ। हाम्रो पार्टीले यसलाई ध्यान दिँदै सदनको आफ्नै क्यालेन्डर अर्थात् पात्रो भनेर आवाज उठाइरहेको छ। जुन आंशिक रुपले सम्बोधन पनि भएको छ। आशा छ सदनले छुट्टै आफ्नो क्यालेन्डर प्रयोग गरेर आफ्ना काम कारबाही अघि बढाउनेछ।
जनताले म जनप्रतिनिधि भएकाले मलाई केही प्रश्न राख्छन। म केही प्रश्नहरु राख्न चाहन्छु।
–कति दिन भित्र प्रतिनिधिसभाको नियमावली पास हुन्छ ?
–कति दिनभित्र संसदीय समितिहरु बन्छन् ?
–कु्न दिनदेखि सदन संविधानले परिकल्पना गरे अनुसारको काम कारबाहीमा गतिशिल भएर अघि बढ्छ ?
हुन त राज्यमा प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालय सम्हालेको बेलामा सदनमार्फत जनताका तद तद मन्त्रालय अन्तर्गएतका समस्या राखौं कि नराखौं द्वीविधामा छु । तर व्यक्ति होइन प्रणालीमा विश्वास गर्ने भएकाले झापा जिल्लाका जनताले भोगिरहेका समस्याको बारेमा केही राख्न चाहन्छु ।
झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा सरकारी दबन्दी ४० प्रतिशतभन्दा बढी खाली छन् । जसको असर त्यहाँ जनताले भोगिरहेका छन्। नयाँ बनेको अस्पतालको भवनको निर्माण म्याद कटेको ७ महिना भइसक्दा समेत हस्तान्तरणको प्रक्रिया समेत अघि बढाइएको छैन ।
भएको पूरानो भवन पनि आंशिक रुपमा क्षतिग्रस्त अवस्थामा छ । न त अस्पतालमा सरसफाइको काम राम्रोसँग हुन्छ न त जनताले राम्रोसँग सेवा पाइरहेका छन् । त्यसकारण अस्पतालमा समय समयमा अनुगमन र निगरानीका लागि टोली खटाएर अस्पतालको उचित व्यवस्थापनका लागि पहल गराउन सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।
विगत १५ वर्षमा मात्र झापामा हात्तीको आक्रमणबाट ५२ जना नेपाली र ५ जना विदेशीले ज्यान गुमाएका छन् । करोडौं खाद्यान्न बालीहरुको क्षती भएको छ भने कयौं घरमा क्षती पुगेको छ । एकातिर हात्तीबाट ज्यान गुमाउनपर्छ कि भनेर जनता चिन्तित छन् भने अर्कोतिर हात्तीले ल्याएको विनाशको कारण पीडित बन्न पुगेका जनताले राहत पाउन समेत समस्या भोगेका छन् ।
त्यसैले, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको वन्यजन्तु क्षती राहत निर्देशिक–२०६९ मा राहत वितरण सेवा वडा स्तरबाट नै प्राप्त हुनसक्ने गरी परिमार्जन गर्नपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउँछु । धन्यवाद ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)









































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google