
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
शपथ सोमबार ११ बजे शीतलनिवासमा
प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार, सोमबार बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोहमा उपस्थित हुन संघीय संसद्का सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google