काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको छ । शनिबार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।
प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र प्रदेशस्तरीय भ्रातृसंगठनका पदाधिकारीहरु सहभागि हुने गरेका छन् ।
भ्रातृसंगठनहरुको चैत्र १३ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ट्रेड युनियन महासंघले १२ गते, बौद्धिक पेसाकर्मी महासंघले १४ गते विधानको मस्यौदामाथि सुझाव पेस गर्ने गरी अन्तरक्रिया र छलफलको कार्यक्रम तय गरेका छन् ।
जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ ।