काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।
‘हाम्रो गठबन्धन छ । गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ । त्यहीअनुसार यसअघि प्रतिकूल अवस्थामा पनि कांग्रेसले नेतृत्व गर्न खडा भयो,’ विश्वकर्माले भने, ‘अब सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन । तर त्यसकालागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ ।’
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेका थिएनन् । बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ ।
प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।
कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । जसमा कांग्रेसका २९, एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google