काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको विषयमा प्रश्न उठाएका छन् । उच्च अदालतले निर्दोष भएपछि क्यान र आईसीसीबाट समेत स्वीकृत भइसकेपछि सन्दीपको भिसा नलाग्नु लाजमर्दो भएको बताए ।
उनले अघि भने, ‘सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो ।’ साथै, उनले परराष्ट्र नीतिको बारेमा पनि प्रश्न उठाए ।
‘हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ? पञ्चशीलको आधारमा बनाएको हो कि पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा बनाएको हो?,’ सांसद शाहीले भने । अमेरिकासँगको सम्बन्ध ७६ वर्ष भएको बताउँदै उनले अन्तर्राष्ट्रिय खेलाडीलाई भिसा नदिनु दुःखद भएको पनि बताए ।
‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन,’ उनले भने ।
उनले अघि भने, ‘आज सिंहलाई खोरमा राखेर सिकार गर्न पठाइँदैछ, नेपालको बेइज्जत गर्न खोजिँदैछ, नेपालको अस्तित्व खतरामा पर्दैछ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google