काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ । आज केन्द्रीय कार्यालयमा बसेको ५४ औं सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जानकारी दिए ।
उनकाअनुसार सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।
यो कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने पनि उनको भनाइ छ ।
एकीकृत समाजवादीले गृह मन्त्रालय दाबी गरेकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता खतिवडाले अहिलेसम्म यही मन्त्रालय हुनुपर्छ भनेर दाबी नगरिएको बताएका थिए ।
एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्। एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।