काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले बैठकमा कांग्रेसलगायत प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निष्कर्षउन्मुख रहेको र सोमबार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।
प्रमुख सचेतक लेखकले सोमबारको बैठकले कार्यादेश, सदस्यहरू सबै सहमति गरिसकेकाले मंगलबारको प्रतिनिधिसभाको बैठकमा कार्यदलले अन्तिम रूप दिएपछि संसदमा आएर समितिका रूपमा बन्ने बताए । उनले ४ बजेको प्रतिनिधिसभा बैठकमा कार्यादेशसहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने जानकारी दिए । कांग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताए ।
प्रमुख सचेतक लेखकले समग्र सहकारीबारे कानुनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google