काठमाडाैं । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको संज्ञा दिएका छन् । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो पार्टीको आयु बढीमा ४ महिनाको रहेको पनि बताए ।
देश बनाउने भिजनविनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क गर्दै उनले रास्वपालाई तीतेपातीसँग तुलना गरे । एमाले पीपल र रास्वपा तीतेपातीजस्तो भएको उल्लेख गर्दै उनले भने, ‘एउटा पिपलको बिरुवा रोपदिनुस् । छोडदिनुस् । त्यसको छेउमा एउटा तीतेपाती उम्रिन्छ । त्यो तीन महिनामा पीपलको एउटा पनि टुसो पनि हालेको हुँदैन । तीन महिनामा तितेपानी आठ फिटको भएर उधुम झाँगिएर उधुम मच्चाउँछ ।’
नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको भन्दै ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबीसमेत गरे । उनले भने, ‘पुरानो पार्टी सक्किए भनेको खासगरी एमालेलाई टार्गेट गर्न खोजिएको हो । बुर्जुवामा पुरानो, नयाँको केही पनि अर्थ छैन । पुराना हुन् कि नयाँ आउन कि के मतलव ? बुर्जुवा आइडोलोजी इज बुर्जुवा आइडोलोजी ।’
परिवर्तनकारी विचार मात्रै नयाँ विचार हुने उनको भनाइ छ । दर्शनका नाममा जसले जति वाद ल्याए पनि कार्ल माक्र्सले अगाडि सारेको माक्सिजम नै सबैभन्दा नयाँ दर्शन भएको उनले बताए । उनले भने, ‘त्योभन्दा नयाँ दर्शन अर्को कुनै पनि छैन । नेपालमा सबभन्दा नयाँ पार्टी भनेको, सबभन्दा पुरानो पार्टी पनि यही पार्टी हा,े एमाले ।’
चार महिना, ६ महिना, १० महिनाअगाडि खोले पनि बुढो विचार बोकेर खोलेको पार्टीलाई नयाँ भन्न नमिल्ने उनको भनाइ छ । ‘नयाँ बोतलमा पुरानै रक्सी के भन्छ नि । यी बोत्तल जुनसुकै कलरका जे सुकै होऊन् । बोत्तल नयाँ होला । रक्सी उही हो । उही रक्सी बोकेर हिँड्या छ । जेसुकै चिह्न बोकुन् ।’
देश बनाउने भिजनविना, कहाँ पुग्ने भन्ने भिजनविना, समृद्धि नेपालः सुखी नेपालीजस्तो क्लिएर भिजनविना अगाडि बढ्न नसकिने उनको भनाइ छ । यस्ता ह्विम कहिलेकाहीँ आउने गरेको भन्दै उनले ०६४ सालमा माओवादी पनि यसरी नै आएको तर छिटै सकिएको बताए ।
माओवादीले २४० सिटमध्ये १२० सिट ल्याउँदा अब माओवादीले खायो भनेर दुनियाँ कराएको तर आफूले कहिलेकहिले यस्तो हुने भनेको स्मरण गराए । ‘एउटा भाँडामा दुई माना दुध राखेर बेस्सरी आगो लगाइदियो भने त्यो आगोको रापतापले भरी भएर पनि पोखिन्छ । त्यो त्यत्रो भरि दुध हुँदै होइन । दुई माना हो । पोखिएपछि एक माना बाँकी रह्यो होला । त्यसकारण यो टेम्प्रोररी फेनोमेना यस्तो कुराहरुलाई परमानेन्ट ठान्नुहुन्न ।’
नेकपा एमाले हिउँद, वर्षा, आँधी, तुफान, भूकम्प आदि इत्यादि सबै देखेको पीपलको रुख जस्तै भएको उनले दाबी गरे । छोटो आयु भएको अल्पायु चिजहरु छिटो हलक्क बढे पनि भिजनविनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क गरे ।