![post](https://www.darpandainik.com/images/blog/643d1f3f21045_rabi-lamichhane-2.jpg)
काठमाडौं । सुतेकै अवस्थामा चालक दिलबहादुर थापा 'शम्भु' घरको छतबाट खसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खोलेका छन् । सामाजिक सञ्जालमार्फत रविले उक्त घटनाबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले चालक थापालाई प्रिय भाइ भन्दै उनी छतबाट खसेर दुर्घटनामा परेको दाबी गरेका छन् ।
'आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो। उहाँ सीएमसीमा उपचाररत हुनुहुन्छ', उनले भनेका छन्, 'बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुध्रिएको छ, स्थिर छ। प्रहरी पनि अनुसन्धानमा छ ।'
उनले यस्तो बेला आफूसँग बोल्ने शब्द नभएको बताएका छन् । 'म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्', उनले भनेका छन्, 'बिन्ति छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला ।'
उनले यो घटनामा स्तरहीन बनेर राजनीतिकरण नगर्न पनि अरु दललाई भनेका छन् । 'सक्नुहुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ', उनले भनेका छन्, 'उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्यलाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।'
रविका चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका-११ स्थित घरमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थिए । त्यसपछि लामिछानेका चालक छतबाट खसेको घटनामा त्यही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।