काठमाडौँ । पार्टीभित्रको अन्तर्विरोधप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन् । शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू पार्टी जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन् ।
‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु ।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको अगाध मायाले पार्टीमै सक्रिय बन्न लागेकी हुँ।’
उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता जनाएकी छन् । केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन् ।
उनी गत वैशाख २५ गते काठमाडौंमा भएको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी थिइन् ।
याे पनि : भाेटरसमेत नरहने घाेषणा गर्दै राप्रपा महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले दिइन राजीनामा
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google