काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ । विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने बताइएको छ ।
छनौट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ । प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ । भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्वद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भई कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ ।
सबै प्रदेश, जिल्ला तथा जनवर्गीय/भ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनौट गरिएको सम्बन्धित समितिको माइन्यूट अर्थात निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालयमा जेष्ठ २५ गतेसम्म पठाइ सक्नपर्ने छ । निर्वाचन वा अन्य समयमा पार्टी अनशासन उल्लङ्घन गरी पार्टी बिरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने छैन ।