काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् ।
भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेका र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताएको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए ।
उनले आफू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताए । उनले भने, ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । र पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ ।’
त्यस्तै भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए । उनले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताए ।