काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ । पटकपटक मिति सरेको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । २०७९ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
त्यसैले, आजबाट सुरु हुन लागेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । चुनावी समीक्षा, सत्ता गठबन्धनमा भएको हेरफेरमात्र होइन, पार्टीभित्र देखिएको विवादका कारणले पनि अहिलेको बैठकलाई महत्वका साथ हेरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति शेरबहादुर देउवाले एजेन्डा तय गर्ने विषयमा छलफल गर्दैछन् । देउवा निवास धुम्बाराहीमा कांग्रेसका शीर्ष नेताहरूसँग बिहान ९ बजे छलफल गरेर एजेन्डा तय गर्ने बताइएको छ ।
हरेक २ महिनामा बस्नुपर्ने बैठक सभापति देउवाले टार्दै एक वर्षपछि बस्न लागेको हो । यो बैठकमा कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेल चलान भएका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउने भएको छ ।
कांग्रेसभित्र भ्रष्टाचारको मुद्दामा मुछिएका कारण निलम्बन गर्नुपर्ने आवाज रहेको छ । तर, सभापति देउवाले खाँणलाई निलम्बन नगर्ने बताएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कांग्रेसले जिल्ला सभापतिहरूको भेला गरेको थियो । यद्यपि उक्त भेलामा सभापति देउवा र नेता शेखर कोइराला भने सहभागी भएनन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google