
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बलुवाटारस्थित प्रधानमन्त्री निवास, घेर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले अस्वभाविक शुल्क वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटार घेर्ने भएको हो । भदौ १० गते शनिबार बिहान ठिक ११ बजे प्रधानमन्त्री निवास घेराउ गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग राखेको छ ।
बिहीबार साँझ नेविसंघ ललितपुरले पाटनढोकादेखि पुल्चो क्याम्पससम्म मसाल जुलुस निकालेको थियो ।इन्जिनियरिङ अध्ययन संस्थानले मूल्य समायोजन नगरेसम्म आन्दोलन नरोकिने नेविसंघले जनाएको छ ।
इन्जिनियरिङ अध्ययनका लागि एकैपटक भारीमात्रामा शुल्क वृद्धि गरिएको भन्दै नेविसंघ आन्दोलित छ । शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् ।
बुधबार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि फिर्ता लिन माग गरेका थिए ।
बिहीबार कांग्रेस महामन्त्री गगन थापा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेका थिए । यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google