संगठन निर्माणमा लागे भीम रावल, यी हुन् एजेन्डाहरु

दर्पण दैनिक ३ माघ २०८१,१९:५९
post

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावल संगठन निर्माणमा लागेका छन् । नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरेर केही दिन अगाडि  मातृभूमि जागरण अभियान घोषणा गरेका थिए । 

बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।

सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पालिका , प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

त्यो भन्दा बढी मानिस भए सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् ।

यस्ताे छ भीम रावलकाे संगठनबारे जानकारी


राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔँ, 
मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरुद्ध जुटौं !

मातृभूमि जागरण अभियान, नेपाल

(संक्षिप्त जानकारी)

बितेका ७५ वर्षमा नेपालमा अनेकौं राजनीतिक परिवर्तन भए । यस क्रममा विभिन्न प्रयोग गरिए । तर देश स्वाधीनता, सुशासन, विकास र समृद्धिको सुस्पष्ट बाटोमा अग्रसर भएको महसूश भएन । देश र जनताका माग, आवश्यकता र आकांक्षा अनुरुप युगानुकूल दर्शन र सिद्धान्तको कार्यान्वयन गरिएन । सत्ता लिप्सा र अमूर्त कुरामा समय बित्यो । जनता उज्यालो भविष्य तर्फ निर्धक्क अघि लम्कने अवस्था भएन । प्रतिस्पर्धी विश्व समुदायका बीच नेपाल र नेपालीले शीर ठाडो गरी उभिने स्थिति बनेन । यसको कारण राजनीति र राज्यका सबै क्रियाकलाप देश र जनताको सर्वोपरी हितमा केन्द्रित नभई स्थायित्व कायम नहुनु नै हो । 

अतः नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य छ । अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरुको भूमिकाले नेपालमा पर्नसक्ने प्रभावलाई गम्भीर रुपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक-सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ । यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरु तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरुसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ । यसमा सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरुको सहभागिता, समर्थन र सहयोगको अपेक्षा गरिएको छ ।

राज्य संचालन, अर्थव्यवस्था र जनजीवन लगायतका विषयसंग सम्बन्धित विस्तृत धारणा, नीति र कार्यक्रम गहन र व्यापक छलफल पछि तय गर्नु उपयुक्त हुनेहुँदा यहाँ सामान्य रुपरेखा मात्र प्रस्तुत गरिएको छ ।


मातृभूमि जागरण अभियान किन ?

१. नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र हित तथा नेपाली जनताको हक, हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्न । 

२. संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मान्यतामा आधारित भई राष्ट्रिय हितलाई सर्वोपरी राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्व जनसमुदायमा बोध गराउन ।

३. नेपालको समग्र राष्ट्रिय सुरक्षालाई बलियो बनाउन जनताको साथ र समर्थन सिर्जना गर्न ।

४. शासकीय स्वरुप, राज्यको संरचना, निर्वाचन प्रणाली, अर्थ व्यवस्था, शासन- प्रशासन संचालन तथा लोककल्याणकारी पद्धति जस्ता महत्वपूर्ण विषयमा गहन
छलफल र बहस चलाउन ।

५. राजनीति र राज्य संचालनमा रहेका विकृति, बेथिति, भ्रष्टाचार र मनपरी एवं देश र जनताको हित विरोधी क्रियाकलापको अन्त्यका लागि सशक्त जनमत सिर्जना
गर्न । 
६. कानूनी शासन, विधि, प्रणाली र पद्धतिलाई बलियो गरी स्थापित गर्न तथा त्यसमा रहेका गलत विचार र अभ्यासको अन्त्यका लागि जनतालाई जागरुक बनाउन । 

७. मानव स्रोत लगायत सबै प्राकृतिक स्रोत नेपालको सर्वोपरी हितमा सदुपयोग र परिचालन गरी देशको विकास गर्न सकिने मान्यता जनतामा बलियो गरी स्थापित
गर्न ।

८. राज्यका महत्वपूर्ण पदमा रहेका वा रहिसकेका व्यक्तिहरुले गरेका भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन र कार्वाईका लागि जनआवाज व्यापक र बलियो तुल्याउन । 

९. महंगी, अभाव, सहकारी ठगी, मिटरव्याज, घुसखोरी, कमिशनखोरी, कालाबजारी, कृषि उपजले मूल्य र बजार नपाउने, असुरक्षा जस्ता जनसरोकारका विषयहरु तथा जनजीवन कष्टकर बनाउने क्रियाकलापहरुको विरुद्ध जनतालाई संगठित र परिचालित गर्न ।

१०. माथि उल्लिखित लगायतका विषयहरुमा जनताको माग, भावना र आकांक्षालाई संगठित गर्दै आगामी दिनहरुमा विस्तृत धारणा, नीति र कार्यक्रम जनसमक्ष प्रस्तुत गर्न । यस सन्दर्भमा देशका सबै इमान्दार, देशभक्त तथा देश र जनताको हक- हितमा प्रतिबद्ध संगठन, नेता र व्यक्तिहरुसंग सम्पर्क, छलफल, सम्बन्ध र सहकार्य गर्न ।


११. उपर्युक्त विषय, छलफल र परामर्शको आधारमा मातृभूमि जागरण अभियान, नेपाल संचालनको क्रममा संगठन निर्माण गर्दै देशमा मूलधारको देशभक्तिपूर्ण राजनीतिक शक्ति/दल निर्माणमा योगदान गर्न ।

ख) संगठन निर्माणको प्रक्रिया र स्वरूप

१. मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्ने सिलसिलामा वडा, पालिका, जिल्ला, प्रदेश देखि केन्द्रसम्म संगठन निर्माण गर्ने । जुन तहको भेला गरिन्छ सोही तहको संगठन निर्माण गर्ने ।

२. संगठनको स्वरुप धेरै भन्दा धेरै मानिसहरुलाई समेट्ने किसिमले बनाउने । यसको
नामकरण मातृभूमि जागरण अभियान अगाडि राखेर सम्बन्धित तहको नाम उल्लेख गरी तदर्थ समिति भन्ने । समितिमा एक जना संयोजक र एकजना सदस्य सचिव राख्ने तथा अरु सबै सदस्य रहने ।

३ समितिको संख्या १५ देखि २५ जनाको राख्ने । यसभन्दा बढी मानिसहरुलाई
समेट्नु पर्ने भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने । परिषद्बाट माथि भनिए झैँ समिति गठन गर्ने। समितिको संयोजक र सदस्य सचिव नै परिषद्को संयोजक र सदस्य सचिव रहने ।

४. जन सम्पर्क र सम्बन्धको लागि संयोजक, सदस्य सचिव र अन्य आवश्यक व्यक्तिहरुको टेलिफोन नम्बर र इमेल ठेगाना सार्वजनिक गर्ने ।

ग) आर्थिक व्यवस्थापन

स्वदेश तथा प्रवासमा रहनु भएका शुभेच्छुक, समर्थक र मातृभूमि जागरण अभियान, नेपालमा संगठित व्यक्तिहरुबाट स्वेच्छिक रुपमा प्राप्त चन्दाद्वारा आर्थिक व्यवस्थापन गर्ने। प्राप्त रकमलाई पारदर्शी र व्यवस्थित गर्नका लागि संगठन / दल दर्ता नहुँदासम्म संयोजक र सदस्य सचिवको नाममा बैंकमा खाता खोली चलाउने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post