काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको बताएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए । उनले लामिछाने कुनै सहकारीको संस्थापक, व्यवस्थापक, सञ्चालक केही नरहेको र उनीमाथि उजुरी मात्र परेको भन्दै कांग्रेसले अनावश्यक राजनीति गरेको आरोप लगाएका थिए ।
तर प्रधानमन्त्रीको जवाफपछि नेपाली कांग्रेसले उठेर पुनः संसद अवरुद्ध गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको र उनी समेत गुमराहमा परेको पाइएको बताए ।
‘प्रधानमन्त्रीको जवाफबाट कांग्रेसको चित्त बुझ्ने ठाउँ पटक्कै भएन बरु थप चिन्ता भयो । सम्माननीय प्रधानमन्त्रीजीलाई नै गलत सूचना दिँइदैछ, सम्माननीय प्रधानमन्त्री नै अध्यारोमा हुनुहुन्छ भने यो विषयको निष्पक्ष छानबिन होला ?’
'प्रधानमन्त्रीजीले नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अनुभव भएको बताउनुभयो । हामीलाई हाम्रो इतिहास स्मरण छ,' लेखकले भने, 'यसैगरी मन्त्रीका विषयमा यो सदनमा विगतमा पनि प्रश्न उठेको छ । डा. रामशरण महतको विदेशी बैँकमा खाता छ, राजीनामा दिनुपर्छ भनेर संसद्मा आवाज उठ्यो, उहाँले राजीनामा दिनुभयो । शेरबहादुर तामाङको बोलीका विषयमा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभएको छ । गोकुल बाँस्कोटा यही हुनुहुन्छ, उहाँको विषयमा प्रश्न उठेपछि राजीनामा दिनुभएको छ ।'
प्रश्न उठाइएकै कारण पछिल्लोपटक जनार्दन शर्माले राजीनामा दिएको उनले उल्लेख गरे । विगतमा अरू मन्त्रीका विषयमा पनि प्रश्न उठाइएपछि संसदीय छानबिन समिति गठन गरिएको उनले बताए । अहिले प्रधानमन्त्रीको दाबीका कारण पनि छानबिन समिति आवश्यक भएकामा उनले जोड दिए ।
'भरतमोहन अधिकारीले बजेट ल्याउँदा कतिपय विषय बाहिरिएको भनेर संसदीय छानबिन समिति बनेको छ । विष्णु पौडेलको बजेटको सूचनाका विषयमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन गरिएको छ,' लेखकले भने ।
'एउटा छानबिन समिति गठन गरौँ, यो संसदीय अभ्यास हो । दूधको दूध पानीको पानी निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौँ,' उनले भने ।लेखकले समिति गठन नगरे संसद् नचल्नुको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google