काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् ।
‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ ।
लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन् । सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य भएको ढकालले पत्रमा लेखेका छन् ।
लोकतान्त्रिका विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको उनले लेखेका छन् । ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ सभापति लामिछानेलाई लक्षित गर्दै ढकालले पत्रमा लेखेका छन्, ‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।’
मुकुल ढकालले फर्काएकाे जवाफ
मिति: २०८१/०५/०७
श्री रवि लामिछाने ज्यू, पार्टी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी ।
विषय: प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ गतेको पत्रको जवाफ बारेमा ।
महोदय, उपरोक्त सम्बन्धमा मलाई "पुनः स्पष्टीकरण पेश गर्ने बारे विषयमा प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले मिति २०८१/०४/२८ मा तपाई रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु भयो। साथै मिति २०८१/०४/३१ गते तपाई रबि लामिछानेलाई सम्बोधन गरी मैले मलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको मिति २०८१/०४/२८ मा लेखिएको पत्रका बारेमा स्मरण गराएको थिएँ। मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ। मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु ।
मैले प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिए अनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाई रवि लामिछानेको निरङ्गशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु। तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाई रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाई राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाई ६-८ वर्ष वा त्योभन्दा वढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहन्छ । राहदानी दुरुपयोगमा तपाई कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। यी सँगै अन्य धेरै ठाउँमा किर्ते ठगीमा संलग्न हुनुहुन्छ ।
आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाई दुराशयका साथ ममावि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ। आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छलंगै छु र पार्टीमा तपाईले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ। आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।
हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौ तर २ वर्ष नवित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ। तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईंको निरष्ठुशतासंग हार्दैन। सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन। उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो। तपाईजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन। यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीवाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ। पार्टी विपरीत म होइन तपाई लाग्नु भएको छ ।
पार्टीलाई स्वार्थको झुन्डवाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाइँले पार्टीको हित विपरीत भन्नु सरासर गलत हो। किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु। पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ । अध्ययन गर्ने बानी त तपाईंमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् । नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ, र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुन पर्ने उल्लेख गरेको छ। प्रश्न सोध्दैमा कारबाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न। बहुमततन्त्र र लोकतन्त्रमा फरक छ र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन गर्दैन। यसलाई विषयान्तरको रूपमा नबुझियोस् यो त तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाई हो। यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णय बर्खिलाप छ, साथै नेपालको संविधान र विश्वव्यापिरूपमा स्थापित
लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।
भवदीय, डा. मुकुल ढकाल
बोधार्थ: निर्वाचन आयोग, नेपाल। (लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको प्रमाण स्वरूप)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google