काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्वोधन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सम्बोधनका क्रममा ओलीले वर्तमान गठबन्धनले बनाएको साझा न्यूनतम कार्यक्रमको प्रसंग ल्याएपछि खतिवडाले आपत्ति जनाएका हुन् ।
‘विपक्षी दलको नेताले अहिले बोल्दा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, संसद चलेको दिनदेखि आजसम्म संसदमा त्यो कार्यक्रमको पत्र देख्न पाएका छैनौँ । बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस’, खतिवडाले भने ।
खतिवडाले आपत्ति गरेको विषयलाई ओलीले हासेर उडाइदिए । ‘नेपाली कांग्रेस प्रधानमन्त्रीभन्दा पहिले विपक्षी दलको नेताले सम्बोधन गर्न पाउनुपर्छ भनेर भनेको थियो । यस्तो उहाँहरूले गरिहनुहुन्छ, यो कुनै अनौठो कुरा होइन’, ओलीले भने ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले आइतबार झण्डै एक घण्टा सम्बोधन गरे । ओलीले कांग्रेस सत्ताबाहिर रहँदा पानी बाहिरको माछोजस्तो रहेको टिप्पणी गरे । उनले राष्ट्रपति निर्वाचनमा कांगेसको दुराशय देखिएको पनि बताए।