
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सोबारे जानकारी गराइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा सदनलाई जानकारी गराएका हुन्। संसदबाट शतप्रतिशत विश्वास पाउनेमा प्रधानमन्त्री प्रचण्ड विश्वस्त छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत विश्वास पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘आशाको कुरा गर्दा त मैले पहिले विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि १०० प्रतिशत नै हुन्छ भन्ने आस छ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिँदै छन् । यसअघि गत पुस २६ मा एमालेसँगको गठबन्धन सरकारले संसदबाट अभूतपूर्व विश्वास पाएको थियो । उनको पक्षमा ९९.२७ प्रतिशत सांसदले समर्थन जनाएका थिए ।