
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भनेर ठूला दलले हेपिरहेको गुनासो पोखेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उनले अहिले हामीलाई सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो पार्टी बनेर मुखभरिको जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर अघि बढौँ । यो पार्टी चल्दैन भन्ने निराशावादी कुरा गर्नेलाई मुखभरिको जवाफ दिन काम, गतिविधि र व्यवहार देखाउँछौँ । विगतमा पनि क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै निराशावादी कुरा गर्ने थिए । तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युग थालेका थियौँ । त्यसैले हामी भोलि पनि सक्छौँ ।’
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको आरोप लगाए । ओली सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्न चाहेको नेपालको आरोप छ । उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुईदलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दै छ । दुईदलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स–साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’ उनले संविधानलाई मिच्ने बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर भइरहेको आरोप लगाए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google