
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ १ को प्रदेशसभा क्षेत्र नं. १ मा हुन वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिएको छ । तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई टिकट दिने निर्णय कांग्रेसले गरेको हो ।
मंगलबार र बुधबार कांग्रेस सभापति देउवा निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अभिषेक क्षमतावान पनि भएकाले उनैलाई टिकट दिनेबारे छलफल भएको थियो । त्यही छलफललाई निरन्तरता दिँदै बिहीबार बिहान बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई बुवाको स्थानमा उठाउने निर्णय गरेको हो ।
पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । गत असार ५ गते मन्त्री सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो ।
२०७९ को स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए । तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google