काठमाडौँ । सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ । कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।
फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।
विज्ञप्ति
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले यही मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गरिन लागेको काठमाडौं केन्द्रित आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यबद्धता रहेको सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुमा जाहेर गर्दछौं ।
सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । मिति २०८० माघमा हाम्रो पार्टीले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको 'सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना' प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरुको राजनीतिक संरक्षण लगायतका विषय प्रधानताका साथ उठाइएको छ ।
बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैर-दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नेपाली नागरिकहरुमा हार्दिक आग्रह गर्दछौं ।
मनिष झा
प्रवक्ता (कार्यवाहक)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google