काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छन् । आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ ।
महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक)लाई निर्वाचित गरेको छ । महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन् ।
मनोनीत हुने उपाध्यक्ष पदमा सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी (कास्की) र चम्पा अधिकारी (काठमाडौं)लाई सहमतिका आधारमा महाधिवेशनबाट नै चयन गरिएको छ ।
संगठनको महाधिवेशनबाट पारित विधानअनुसार भएको निर्वाचनबाट विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन् ।
महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै विधान अनुसारको सदस्य समेत निर्वाचित गरेको छ । यसअघि संगठनकी महाधिवेशन आयोजक समितिकि संयोजक रावलले बन्द सत्रमा पेश गरेको संगठनको राजनीतिक र सांगठनिक प्रतिवेदन एवं सदस्य सचिव कुमारी स्याङ्तानले पेश गरेको विधानको मस्यौदा सामान्य संशोधन सहित पारित गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता, पार्टीका केन्द्रीय सदस्य राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।
निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता बस्नेत, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, युवा संगठनका संयोजक अधिवक्ता सुजित केसी र अधिवक्ता नानी थापा सदस्य रहेका थिए ।