काठमाडौं । नेपाली कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको थियो । आजै मध्याह्न १२ बजे संसद् भवनकै ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्नेछ । संसदीय दलको बैठकबाट याे निर्णय अनुमोदन गरिनेछ ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।