काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाले जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रम बनाएर लागु गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ (लामा) ले यस्तो नीति ल्याउन लागेका बताएका हुन् । उनले भने, ‘आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा सुरुवात गर्ने नीति लिएका छौं ।’
गाँउ सभाको १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष लामाले जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रम सबै विद्यालयमा लागु गरिने बताए । गाउँपालिकाले विद्यालय बाहिर रहेका र बीच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गर्ने नीति लिएको छ ।
‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी तथा निजी क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, नीति तथा कार्यक्रममा गाउँपालिकाले बहुसाँसकृतिक संग्राहलयको विकास गर्ने नीति लिएको छ । ‘गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला निर्माण गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।’
यसैबीच गाउँपालिका भित्र आयोजना हुने कार्यक्रहरुमा विविध जातीय भेषभुषा, कला साहित्य, संगित लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइने भएको छ । त्यस्तै तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकले तामाङ समुदायको पहिचान झल्किने गरी सर्वजानिक, निजि तथा समुदायको सझेदारीमा एक अन्तराष्ट्रिय तामाङ साँस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य तथा नीति लिइएको छ ।
अध्यक्ष लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखएिको छ । स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँ गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुर्नस्थापना सेवालाई सहज र नियमित बनाइने नीति राखेका छन् ।
तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाइने, गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उलब्ध गराउने, नसर्ने रोग नियन्त्रणका लागि परिक्षण र उपचारको व्यवस्थालाई निरन्तरता दिइने, नागरिकहरुलाई मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, गाउँपालिका तथा वडा कार्यालयहरु जोड्ने रणनीतिक सडकहरु निर्माणमा निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
१३ औं गाउँ अधिवेशन आइतबारबाट शुरु भएको छ । वागमती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले गाउँ अधिवेशनको उद्घाटन गरेका थिए ।
नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मत पारित समेत गरेको छ । गाउँपालिकाको बजेट भने फेरि १४ गते हुने गाउँसभाको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लामाले बताए ।