सन्तोष दहाल, ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित दुधको मात्रा वृद्धि गर्दै कृषकलाई आत्मनिर्भर बनाउनका लागि दूध मिसन र पशुपालन कार्यक्रम लागु गरेको छ ।
शुक्रबार गाउँपालिकाले उक्त कार्यक्रम अन्तर्गत वडा नं २ र ३ का सरोकारवाला किसानहरुसँग अभिमुखीकरण गोष्ठीमार्फत जानकारी गराउँदै पशु बिमा प्रिमियममा गाउँपालिकाले दिने ५० प्रतिशत अनुदान रकम किसानलाई वितरण गरिएको छ ।
किसानहरुले गर्ने पशु बिमामा संघीय सरकारले ८० प्रतिशत प्रिमियम रकम व्यहोर्छ भने बाँकी २० प्रतिशतलाई १०० प्रतिशत मानी त्यसको ५० प्रतिशत प्रिमियम कोन्ज्योसोम गाउँपालिकाले किसानलाई दिँदै आएको गाउँपालिका प्रमुख कृष्णमान लामाले जानकारी दिए ।
प्रमुख लामाका अनुसार हाल गाउँपालिकाको शंखु र दलचोकीबाट दैनिक १७ हजार लिटर दूध वैधानिक रुपमा काठमाडौँ उपत्यका भित्रिने गरेको छ । त्यसलाई बढाएर २२ हजार लिटरसम्म पुर्याउनका लागि दूध मिसन र पशुपालन कार्यक्रम लागु गर्न लागिएको लामाको भनाई छ ।
चालू आर्थिक वर्षमै सक्नुपर्ने पशुपालन अनुदान कार्यक्रम अन्तर्गत सुरुमा किसानलाई अनुदानमा गाई वितरण गर्ने लक्ष्य राखिएको भए तापनि पछिल्लो समय फैलिरहेको लम्की स्किन रोगको प्रकोपका कारण भैंसी वितरण गर्न लागिएको गाउँपालिका प्रमुख लामाले बताए ।अनुदानका लागि शंखु र दलचोकीबाट ७५ भन्दा बढी किसान छनोट भएका छन् ।