काठमाडौं । वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहनेलाई सुविधा उपलब्ध गराउन नबिलसँग सहकार्य गरेको हो ।
सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिलले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी बजारमा उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी इन्डोनेसियामा लोकप्रिय इलेक्ट्रिक कार हो ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् ।
वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ ।
यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।
रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।