काठमाडौं । बागमती प्रदेशअन्तर्गत उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडादर घटाएको हो ।
काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ ।
उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ । २० किलोमिटरसम्मको भाडा पहिलै ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम भएको छ । यो भाडा दर साउन ११ गतेदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।