काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ७ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार ७ सय ८ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्ख्या २६५.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।