काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बढ्दो बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताएका छन् । राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महतले अर्थमन्त्रालयमा मात्रै नभई अन्य मन्त्रालयमा पनि बेरुजुको समस्या रहेको तर्क गरे ।
उनले भने ‘बेरुजु समग्रमा समस्याको रुपमा छ । अर्थमन्त्रालयमा मात्र हैन सबै तिर समस्या छ। यसलाई कम गर्नको लागि अनुशासन कायम गर्ने कुरामा अर्थमन्त्रालय जागरुकताका साथ लागेको छ । कतीपय अर्थमन्त्रालयसंग जोडिएको वेरुजुको कुरामा करदाताहरुले कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुराहरु र सम्बन्धित निकायहरुमा अनियन्त्रित रहेको कारणले गर्दा पनि यस्तो भएको छ । तर वेरुजु फरछयौटमा प्राथमिकतामा राखेका छौं ।’
अर्थमन्त्रालयमा बेरुजुको चाङ रहेको भन्दै सो बारे राखेको चासोलाई सम्बोधन गर्दै मन्त्री महतले बरुजु कम गर्ने बताए ।
प्रदेशको सिफारिसको आधारमै बजेट विनियोजन भएको बताउँदै अपेक्षाअनुसार बजेट विनियोजन गरिएको उनको दाबी छ । ‘प्रदेशहरुले पठाएको सिफारिसको आधारमा बजेट विनियोजन गरिएको छ। अघिल्लो वर्ष दायित्व सिर्जना भएको आयोजनाहरुमा नै बजेट विनीयोजन गर्नुपर्ने परिस्थितीले गर्दा माननीय ज्युहरुको अपेक्षालाई सम्बोधन गर्न सकिएको छैन् ।’ उनले भने ।