काठमाडौं । नेपाल राष्ट्र बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी र हाइपर फन्डमा लगानी नर्गन चेतावनी दिएको छ । केन्द्रीय बैकले यस्तो लगानी गैरकानूनी रहेकोले कारोबार गरेमा कडा कारबाही गर्ने पुनः चेतावनी दिएको हो । राष्ट्र बैंकले पटक पटक यो विषयमा जानकारी गराउँदा पनि लगानी गरेको पाइएमा कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी दिएको बैकद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक–फर्म–कम्पनी–संस्था, विदेशी समेत र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले विदेशमा लगानी हुनेगरी कुनै कार्य नगर्न आग्रह गरेको हो ।
सोको प्रयोग–संलग्नता–सदस्यता–लगानी–स्वामित्व ग्रहण–स्थानान्तरण–विप्रेषण–विनिमय–सम्बन्धी कार्य गर्ने,गराएको पाइएमा विदेशी विनिमय ऐन, २०१९ को दफा १२ अनुसार कारबाही हुने समेत जनाएको छ । यो भन्दा अघि पनि क्रिप्टो कारोबार हुने गरेको बिषयमा केन्द्रीय बैकले सचेत गराउदै आएको छ ।