काठमाडौं । सिन्धुपाल्चोकको नेपाल-चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो। २०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो । तर कोभिड सुरु भएसँगै पुन: बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो ।
अब दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्नमिल्ने गरी नाका खुलाउने सहमति भएको हो । तातोपानी नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच छलफल भएको छ ।
सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकामा सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले जानकारी दिए । दुई देशका सुरक्षाकर्मीले कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने, सुचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रही आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने भएका छन् ।