काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्समार्फत मुलुकमा ५ खर्ब ८५ अर्ब रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २४.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । केही महिनायता रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दो क्रममा छ ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ सय ९८.१ प्रतिशतले बढेको थियो । गत वर्ष रोजगारीमा जाने नेपालीको संख्या बढेकाले चालु आर्थिक वर्षमा रेमिट्यान्स बढेको जानकारहरु बताउँछन् ।