काठमाडौं । एनएमबी बैंक र डिजिटल माध्यम (खेती एप)बीच किसानलाई बिना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । शुक्रबार एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र ‘खेती एप’का सह–सस्थापक तथा निर्देशक तुलसी गिरीले किसानलाई अनलाइनबाट कर्जा दिने गरी सम्झौता भएको हो ।
बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो । यस योजनाले किसानलाई ऋण लिन सहज बैंकले जनाएको छ। किसानले यस्तो कर्जा लिन खेती एपबाट प्रक्रिया थाल्नुपर्नेछ । किसानहरूमा वित्तीय पहुँच र कर्जा विस्तार नपुगेकोे गुनासो बढिरहेको अवस्थामा एनएमबि बैंकले खेती एपसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । अब किसानले कागज र धितो बिना नै किसानलाई कर्जा पाउने भएका छन् । सम्झौतासँगै किसानहरुमा सहजै कर्जाको पहुँच पुग्ने एनएमबि बैंकका डेपुटी सीईओ गोविन्द घिमिरेले बताए ।
यस्ता छन विशेषताः
बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिनेछ। किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । कर्जाको न्यूनतम अवधिमा ३ महिनाको हुने जनाइएको छ । यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ ।
बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ । त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ । पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन् ।
साथै, कर्जालाई ३ किसिममा वर्गिकरण गरी कर्जा पाइन्छ, ती हुन् प्लाटिनम, गोल्डेन र सिल्भर। कर्जाको वर्गिकरणको आधारमा किसानले कर्जा पाउनेछन् । कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेका कालोसूचीमा राखि भविष्यमा कर्जाको लागि अयोग्य मानिने उल्लेख छ ।