काठमाडाैं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । करिब ७० अर्ब अमेरिकी र नेपाली रकमसहितको यो परियोजना आज कार्यान्वयनमा गएर अब ठीक पाँच वर्षपछि सकिने छ ।
अर्थ मन्त्रालयमा बुधबार एक कार्यक्रम आयोजना गरी एमसीसी नेपाल कम्प्याक्टको लन्च गरिएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशसरण महत तथा एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्ड उपस्थित थिए ।
परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सकिनुपर्ने बाध्यतात्मक व्यवस्था छ । त्यसैका लागि एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसद अनुमोदनसमेत गरिसकेको छ ।
यो परियोजना कार्यान्वयनको सुरुवात गर्न एमसीसीका उपाध्यक्ष अल्फोर्ड मंगलबार काठमाडौं आएका हुन् । परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–हेटौंडा, रातमाटे–न्यूदमौली, न्यू दमौली–न्यू बुटवल न्यूबुटवल– भारतीय सीमासम्म ३१५ किलोमिटर ४०० केभीको प्रसारणलाइन निर्माण हुँदैछ ।
यस्तै नुवाकोटको रातमाटे, तनहुँ जिल्लाको दमौली र नवलपरासीको भुमहीमा ४०० केभी क्षमताका सबस्टेसन निर्माण हुँदैछ । यस्तै दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडकको मर्मत हुँदैछ ।