काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले सय वर्षभन्दा बढी समयदेखि नेपाली जनतालाई सेवा उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले मुनाफामुखी मात्र नभई सेवामुखी समेत भएर देशका विकट स्थानमा पनि सेवा उपलब्ध गराइरहेको बताएका छन् । उनले पछिल्लो समयमा देश बाहिर समेत प्रशस्तै नेपाली रहेका र नेपालमा रहेका आफन्तसँग कनेक्टिभिटी प्रदान गर्ने कार्यमा नेपाल टेलिकमले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।
नेपाल टेलिकमले गत असार २४ गते होटल याक एन्ड यतिमा आयोजना गरेको ट्राभल एन्ड टुरिजम तथा होटल व्यवस्थापनका क्षेत्रमा कार्यरत व्यवसायीहरुसँग ‘नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम’ मा प्रबन्ध निर्देशक पौडेलले सो भनाइ राखे । कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ट्राभल एन्ड टुरिजम तथा होटल व्यवस्थापनका क्षेत्रमा कार्यरत व्यवसायहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले भने, ‘कम्पनीले आफ्ना ग्राहकको परिवर्तित चाहना र मागलाई सम्बोधन गर्दै देश बाहिर रहँदा समेत देशभित्रै रहँदा जस्तै नेपाल टेलिकमको मोबाइल सेवा उपभोग गर्न मिल्ने अन्तर्राष्ट्रिय रोमिङ सुविधा विश्वका ९२ मुलुकमा रहेका आफ्ना साझेदार दूरसञ्चार सेवा प्रदायक मार्फत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, अन्य मुलुकमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुसँग सम्पर्क स्थापित गरी ती सेवा प्रदायकहरुसँग पनि साझेदारीमा अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्ने क्रम जारी छ । साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको महशुल दर समेत समयानुकूल परिस्कृत र परिमार्जन गर्दै थप सस्तो दरमा सेवा उपलब्ध गराउँदै आएको छ ।’
प्रबन्ध निर्देशक पौडेलले कम्पनीले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ तथा गुणस्तरीय बनाई आफ्नो बजार हिस्सालाई मजबुत गरी व्यावसायिक उद्देश्य प्राप्तिका लागि सेवाको गुणस्तरमा विशेष जोड दिँदै सेवा विविधिकरण गर्ने क्रममा इन्टरनेटर इन्ट्रानेट, कर्पोरेट लिज, टोल फ्रि, सीयूजी जस्ता कर्पोरेट ग्राहक लक्षित सेवा पनि सञ्चालनमा ल्याएको बताए । उनले कार्यक्रममा सहभागी सम्पूर्ण पर्यटन व्यवसायीहरुले नेपाल टेलिकमबाट उपलब्ध गराइएको सेवाको उपभोग गर्ने र आफ्ना ग्राहकहरुमार्फत पनि नेपाल टेलिकमको व्यवसाय विस्तारमा सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए ।
प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले पर्यटन व्यवसायलाई थप परिस्कृत र विस्तृत गर्नमा योगदान पुऱ्याइरहेको बताउँदै राष्ट्रको सञ्चारको रुपमा रहेको कम्पनीको सेवा प्रयोग गरी आफ्नो व्यवसाय प्रबर्द्धन गर्न आग्रह गरिन् । उनले नेपालको सबैभन्दा ठूलो करदाताको रुपमा परिचित भएर राष्ट्रको अर्थतन्त्रको करिब ८ देखि १० प्रतिशतसम्म योगदान गरिरहेको नेपाल टेलिकम र करिब ५ देखि ७ प्रतिशतसम्म योगदान गरिरहेको पर्यटन क्षेत्र सहकार्य गरी आर्थिक क्षेत्रमा थप योगदान दिनसक्ने बताइन् ।
प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका प्रबन्धक हरि ढकालले व्यवसायीहरुलाई स्वागत गर्दै कम्पनीका सेवाको उपयोगबाट पर्यटन व्यवसाय प्रबर्द्धन गर्न आग्रह गरे । उनले भ्वाइस र डाटा सेवा मात्र नभई विदेश जाँदा र विदेशबाट नेपाल आउँदा समेत प्रयोग गर्न सकिने रोमिङ र कर्पोरेट सेवाहरुको प्रयोगलाई अझै बढाउन आग्रह गरे ।
सो अवसरमा बरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठले कर्पोरेट क्षेत्रले प्रयोग गर्नसक्ने नेपाल टेलिकमका विभिन्न सेवाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले कर्पोरेट युजर ग्रुप (सीयूजी), एफटीटीएच, लिज लाइन, सिप पीएबीएक्स सर्भिस, टोल फ्रि सर्भिस, अडियो नोटिस बोर्ड, एसएमएस, फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस (नमस्ते वाइफाई), गिफ्ट प्याकेज, नमस्ते क्रेडिट, पोस्टपेड अनलाइन बिल लगायतका विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर प्रविण शाक्यले अन्तर्राष्ट्रिय रोमिङ सेवाको बारेमा जानकारी प्रदान गर्नुभयो । रोमिङ सर्भिस के हो ? किन चलाउने ? सेवा कसरी सक्रिय गर्ने ? यसको महशुल दर कति छ ? सेवा कसरी प्रयोग गर्ने ? सेवा बारेमा केही जानकारी चाहिएमा के गर्ने ? आदि विषयमा उहाँले विस्तृत जानकारी प्रदान गरे ।
सो अवसरमा बरिष्ठ इन्जिनियर सृष्टी अधिकारीले नेपाल टेलिकमले उपलब्ध गराइरहेको अन्तर्राष्ट्रिय सेवाको बारेमा जानकारी प्रदान गरे । नेपाल टेलिकमको भारत तथा चाइना प्याक लगायतका विभिन्न प्याक र एक्सेस कोड प्रयोग गरी विभिन्न देशमा सुलभ दरमा गर्न सकिने कल सुविधा र यसको प्रक्रिया बारेमा उनले विस्तृत जानकारी प्रदान गरे ।