काठमाडाैं । नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा पनि अब अनलाइनमार्फत वा युएसएसडी (USSD) कोडबाट रोमिङ सेवा Active गराउन सकिने भएको छ । आफ्नो मोबाइलबाट *1415*7# डायल गरेर प्राप्त निर्देशन अनुसार रोमिङ सेवा प्राप्त गर्न सकिन्छ । यस अनुसार यो सेवाका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने यस अघिको बाध्यता अब हटेको छ ।
यो भन्दा पहिले नेपाल टेलिकमको नजिकको काउन्टरमा गई रोमिङ सुविधा उपलब्ध गराउन अनुरोध गरिएको फारम भरेर सेवा Active गर्नसकिने व्यवस्था थियो । यद्यपि अहिले पनि आफूलाई सहज लागेमा काउन्टरबाट पनि सो सेवा उपलब्ध हुन्छ ।
विदेशमा हुने ग्राहक महानुभावहरुले रोमिङ सुविधाका लागि roaming.support@ntc.net.np मा नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा सुचारु गराउन सकिन्छ । माथिका दुवै अवस्थामा सेवा सुचारु गराउन कम्तीमा ५ हजार रुपैयाँ Advance Credit Limit सञ्चित हुनुपर्दछ ।
अन्य देशमा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस पठाउन र प्राप्त गर्न सकिन्छ ।
प्रिपेड मोबाइलमा भने यो सुविधा पहिलेदेखि नै उपलब्ध थियो । प्रिपेडमा पनि रोमिङ सेवा लिनका लागि मोबाइलबाट *1415*7# डायल गरेर त्यहाँ उपलब्ध रोमिङ सेवा सुचारु गर्ने विकल्प छनौट गर्नुपर्छ। त्यसैगरी नेपाल टेलिकम एपको प्रयोग गरेर पनि यो सेवा सुचारु गर्न सकिन्छ । तर यी कार्य नेपालबाट विदेश भ्रमण गर्नु पहिले नेपालमै भएको समयमा गर्नुपर्छ ।
ग्राहक प्रिपेड मोबाइल सहित विदेशमै भएको अवस्थामापनि रोमिङ सुविधाका लागि roaming.support@ntc.net.np मा नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा सुचारु गराउन सकिन्छ ।