काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबारबाट मात्रै बिक्री हुने भएको छ । बुधवारदेखि बिक्री खुला गर्ने तयारी भएपनि प्राविधिक कारण असार २१ गते बिहीबारबाट बिक्री खुलाउने तयारी भएको कम्पनीले जनाएको छ । असार २५ गतेसम्म आईपीओका लागि आवेदन दिने सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमा १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि ६ लाख कित्ता सामूहिक लगानी कोषको लागि, ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ९६ लाख कित्ता शेयरमा सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।