काठमाडौं । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । शुक्रबार दिउसो एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो । भारतीय आयल कर्पोरेसन आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएको छ । तर निगमले ग्यासको भाउ यथावत राखेको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google