
काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ल्याएको छ । कम्पनीले इन्डोनेसियाको जेसिस्ट ब्राण्डको विद्युतीय स्कुटर भित्र्याएको हो। राजधानीको नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्कुटर सार्वजनिक गरेका छन् ।
कार्यक्रममा घिसिङले विद्युत खपत बढाउन विद्युतीय साधनलाई प्राथमिकता दिनुपर्ने बताए। मर्मत खर्च कम लाग्ने र इन्धनको मूल्य जोगिने भएकाले विद्युतीय सवारी लाभदायक हुने उनले उल्लेख गरे ।
स्कुटरमा भएको ब्याट्रीले एकपटकको फुल चार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यो स्कुटर प्रिमियम सेग्मेन्ट र अन्य धेरै सुविधाजनक रहेको कम्पनीले जनाएको छ । विवेक अटोमोबाइल्सको विद्युतीय स्कुटरको शोरुम नक्सालस्थित राजनबाबु भवनमा छ ।
जेसिट्स स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर छ । यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री दिइएको छ । यसको ब्याट्री पुरा चार्ज हुन जम्मा ९० मिनेट लाग्ने समेत कम्पनीले जनाएको छ । यसको लागि जम्मा १.३ युनिट विद्युत खपत हुन्छ ।
चालकले जेसिट्स विद्युतीय स्कुटरलाई इको, अर्बन र स्पोर्ट गरी तीन मोडमा चलाउन सक्नेछन् । शून्यदेखि ५० को स्पीडसम्म पुग्न यसलाई जम्मा ५ सेकेन्ड लाग्छ । स्कुटरको अधिकतम स्पीड ७६ किलोमिटर प्रतिघण्टा तोकिएको छ ।
कम्पनीले यसको स्मार्ट एलइडी ब्याट्रीमा तीन वर्षको वारेन्ट दिएको छ । स्कुटरमा डिस्क ब्रेक छ भने प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड अपरेटिङ सिस्टममा जडान हुन्छ । प्रयोगकर्ताले स्मार्टफोनमार्फत स्कुटरको गति, तापक्रम, भोल्टेजहरूबारे जानकारी पाउन सक्छन् ।
कम्पनीले देशभर बजार विस्तारको योजना बनाएको जनाएको छ । स्कुटर ३ वटा कलरमा उपलब्ध छ । सिंगल ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख १० हजार पर्नेछ ।