काठमाडौं । नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा लिने ग्राहकको संख्या करिब २ करोड पुगेको छ । फोरजी सुरु भएको ६ वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९२ लाख पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार थ्रिजी चलाउनेको संख्या भने घटेको छ ।
१ वर्षअघिसम्म थ्रिजी प्रयोगकर्ता १ करोड ९ लाख रहेकोमा त्यो घटेर ८१ लाखमा सीमित भएको छ । अघिल्लो वर्षसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख थिए ।
सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।
फोरजी नेपालमा २०१७ जनवरीबाट प्रयोगमा आएको थियो । हाल सबै जिल्लामा फोरजीको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नेपाल टेलिकमले अहिले विभिन्न शहरमा फाइभजी परीक्षण गरिरहेको छ ।