स्वादका लागि चर्चित बागलुङको आलु

दर्पण दैनिक २४ फाल्गुन २०७९,०७:५३
post

बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँच वटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ ।

ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले बताइन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।

ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।

बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बिउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।

बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’ व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’

पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । ‘पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ,’ थोक बिक्रेता गोपाल कँडेलले भने, ‘बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।’

उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।

स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । ‘स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन,’ सापकोटाले भने, ‘पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।’ स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले सुनाए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बँेसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।

अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्यांक छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्ष बागलुङमा ३ हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार ८ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्यांक छ । प्रतिकिलो ३० रुपैयाँमा मात्रै बेच्न सक्दा किसानले १ अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए ।

उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार ६ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । ‘बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोस्ट मलको प्रयोग भएको छ,’ भट्टराइले भने, ‘राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।’

ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव ३ नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।

आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सात वटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । १ सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।

आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।

‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरूको मात्रै तत्थ्यांक राखिएको छ,’ पुनले भने, ‘बजारमा आलुको मूल्य ५० रुपैयाँदेखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।’ तथ्यांकका लागि किसानले ३० रुपैयाँ मात्र पाएको रेकर्ड बनाए पनि १ अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: