काभ्रे । तेमाल गाउँपालिकाले तेमाल बाहिर बसोवास गर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर राख्दै सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नविरकण कार्यक्रमबाट ५९१ जना लाभाम्बित भएका छन् । काठमाडौँ उपत्यका तथा बनेपामा सञ्चालन गरिएको सो ६ दिने कार्यक्रमबाट जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालगायतका ५९१ जना लाभाम्बित भएका हुन् ।
तेमाल गाउँपालिकाले काठमाडौँका विभिन्न ४ स्थान, भक्तपुरको सूर्यविनायक र काभ्रेको बनेपामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने कार्य गरेको थियो ।
उक्त कार्यमा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङ, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।
कतिपय व्यक्तिको त घरमै गएर तथा डोर्याएर ल्याएरसमेत समाजिक सुरक्षा भत्ता नविकरण गरिएकाे गाउँपालिका अध्यक्ष तामाङले बताए । अहिलेसम्म कसैले नगरेको काम गरेको र आफूहरुको समस्या बुझिदिएको भन्दै जेष्ठनागरिक तथा अन्यले अध्यक्ष तामाङलाई धन्यवाद दिएका थिए ।
जनताको प्रतिनिधि भएपछि जनताकै काम गर्नुपर्छ भनेर तथा जेष्ठनागरिकलाई वर्षातको मौसममा पालिका तथा वडामा पुग्न असहज नहोस भनेर यो कार्य गरेको अध्यक्ष तामाङले दर्पण दैनिकलाई बताए । उनले भने, ‘कतिपय तेमालबासी बुबाआमा काठमाडौँ र बनेपातिर बस्नुहुन्छ । उहाँँहरुलाई सामाजिक सुरक्षा भत्ता नविकरण गराउन वडासम्मै पुग्नु पर्दा समस्या नहोस भनेर यो काम गरेका हौँ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google