
काठमाडौँ । भाद्रशुक्ल पूर्णिमाका दिन यही २२ भदौ आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले २२ भदौ राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) मा उल्लेख छ । मध्यराति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुने र ०१ः४१ मा सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे ३ घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।
यो ग्रहण २०८२ सालको पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुनशुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि पूर्वअध्यक्ष अधिकारीले सुनाए । २२ भदौ आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google