काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो ।
दर्ज्यानी चिन्ह लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google