काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले तीनकुनेको जग्गा मुआब्जा विवादमा दुई तिहाइको सरकारले पनि केही नगरेको टिप्पणी गरेका छन् । शुक्रबार तीनकुनेभित्रका जग्गा धनीहरुको सहमति र सरस्वती युथ क्लबको सहकार्यमा आयोजित प्रथम कोटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूहरु नजन्मदै देखि सरकारले यस क्षेत्रको जग्गा लुटिरहेको बताए ।
‘हाम्रो उमेर भन्दा पनि धेरै भइसक्यो जग्गा लुटिएको,’ बालेनले भने, ‘तर अहिलेसम्म केही भएको छैन । यहाँहरुले धेरै दु:ख पाउनुभयो ।’ प्रधानमन्त्री, अर्थमन्त्री लगायत सबै मन्त्रीहरु र वडासमेत सत्तारुढ दलको नेतृत्वमा भए पनि केही नगरेको उनको भनाइ छ ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै, हुँदाहुँदा प्रधानमन्त्रीकै दलबाट वडासमिति छ । अहिले पनि तीनकुनेको जग्गा विवाद सल्टिएन भने कहिल्यै सल्टिदैँन,’ उनले भने । काम भइरहेको छ भनेर कसैले भन्यो भने पनि नपत्याउन उनले आग्रह गरे ।
‘बहुमत दुई तिहाइको सरकारको छ । यसपटक तर केही पनि गरेको छैन,’ उनले भने, ‘कोही नेताले आश्वासन दिएको छ भने नपत्याउनू । प्रक्रियामा छ भनेर भनेर कसैले भने पनि नपत्याउनु, केही काम भएको छेन ।’
उनले सरकारले लामो समयदेखि व्यक्तिको जग्गा लुटेर राखेको भन्दै दुई तिहाइको सरकारले चाह्यो भने समाधान गर्न सक्ने बताए । ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखिरहेको छ,’ बालेनले भने, ‘दुई तिहाइको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । अहिले पनि भएन भने कहिले पनि हुँदैन ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google