
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।
महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले जानकारी दिए ।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।
तर, तत्कालनि महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।
पाण्डेको संसद सेवाको कार्यवाहक महासचिवको हैसियतले दिएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो ।
नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पाण्डेयले यसअघि संसद सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google