
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका हुन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जाललाई अनुगमन, नियममा ल्याउनुपर्ने उनको भनाइ छ ।
करको दायरामा ल्याएर गलत गर्नेलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न सरकारलाई उनको आग्रह छ । टिकटकबाट हुने भिडिओ दुरुपयोगमा आफू पनि पीडित भएको शाहले बताए ।
‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।’
नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए ।
साथै नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको उनको भनाइ छ। ‘मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ उनले भने ।
यस्ताे छ बालेनकाे स्टाटस :
यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।
हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक–पटक अनुरोध गर्यौं । नेपाल प्रहरीको साइबर ब्यूरो पनि गुहार्यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।
मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दुःख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन । यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।
अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google