प्रधानमन्त्री कप क्रिकेट  : पुलिस र आर्मीबिच शनिबार उपाधि भिडन्त

दर्पण दैनिक १९ माघ २०८०,०९:२३
post

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ । बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार खेलिने छ ।

लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए ।

पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भयो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । लिग चरणको अन्तिम दिन बिहीबार भएको आफ्नो अन्तिम खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हरायो । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुल्यो ।

आर्मी क्लबले भने आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पा¥यो । दुई खेलमा आर्मी क्लब पराजित भयो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । आर्मी क्लबले लिग चरणको अन्तिम दिन बिहीबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हरायो । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुल्यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेस प्रदेश भने थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिन पुगे । बागमती प्रदेशले नौ खेलबाट ६ जित र तीन हारको नतिजा निकाल्दै १२ अंक जोड्यो । अंक तालिकामा बागमती प्रदेश तेस्रो भयो ।

यसैगरी ६ जित र तीन हारको नतिजा निकालेको मधेस प्रदेश पनि १२ अंकसहित चौथो भयो । मधेस प्रदेश नेट रन रेटमा बागमती प्रदेशसँग पछि परेको हो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब १० अंकसहित पाँचौँ भयो । एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकाल्यो ।

यसैगरी आठ अंक जोडेको सुदूरपश्चिम प्रदेश छैटौँ र समान अंक बटुलेको कर्णाली प्रदेश सातौँ भए । सुदूरपश्चिम प्रदेशले चार खेलमा जित र पाँच खेलमा हार ब्यहो¥यो । कर्णाली प्रदेशले चार जित र पाँच हारको नतिजा निकाल्यो ।
चार अंकसहित गण्डकी प्रदेश अठौँ, दुई अंकसहित लुम्बिनी प्रदेश नवौँ र समान अंक बटुलेको कोशी प्रदेश १०औँ स्थानमा रहे । गण्डकी प्रदेशले दुई जित र सात हार, लुम्बिनी प्रदेशले एक जित र आठ हार तथा कोशी प्रदेशले एक जित र आठ हारको नतिजा निकाले । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: